काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ५५ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी)ले सनराइजर्स हैदराबादलाई १९३ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनायो ।
उसका लागि कप्तान फाफ डुप्लेसिसले उत्कृष्ट पारी खेले । उनले ५५ बलमा आठ चौका र दुई छक्कासहित अविजित ७३ रनको योगदान दिए । रजित पाटिदारले ३८ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४८ रन बनाए । त्यस्तै, ग्लेन म्याक्सवेलले २४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३३ रनको पारी खेले ।
दिनेश कार्तिकले आज पनि शानदार फिनिसिङ गरे । उनले आठ बलमा चार छक्का र एक चौकासहित अविजित ३० रनको आक्रामक पारी खेले । कार्तिकले अन्तिम ओभरमा लगातार तीन छक्काक र एक चौका हिर्काए ।
उनले अन्तिम ओभरको तेसे बलमा जीवनदान पाएका थिए । त्यसको फाइदा उठाउँदै कार्तिकले लगातार तीन छक्का हिर्काउँदै ह्याट्रिक पूरा गरे ।
आज विराट कोहली भने शून्यमै आउट भए । हैदराबादका लागि जगदिस सूचितले दुई र कार्तिक त्यागीले एक विकेट लिए । जारी सिजनमा बैंग्लोरले ११ म्याच खेल्दा ६ मा जित र पाँच खेलमा हार बेहोरेको छ ।
ऊ अंक तालिकाको चौथो स्थानमा छ । त्यस्तै, हैदराबादले ११ म्याच खेल्दा सातमा जित र चारमा हार बेहोरेको छ । ऊ १२ अंकका साथ तालिकाको छैटौं स्थानमा छ ।