काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले सातौं जित निकालेको छ । आज भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६७ रनले हराउँदै बैंग्लोरले सातौं जित हासिल गरेको हो । उसले १२ म्याच खेल्दा पाँच खेलमा भने हारको सामना गरेको छ ।
यता हैदराबादले भने ११ म्याच खेल्दा ६ खेलमा हार बेहोरेको छ । उसले पाँच खेलमा भने जित प्राप्त गरेको छ । आफ्नो ११ औं खेलमा बैंग्लोरले दिएको १९३ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९.२ ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । उसका लागि राहुल त्रिपाठीले ५८, एडन मार्कमले २१ र निकालश पूरनले १९ रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । आरसिबीका लागि वानिन्दु हसरंगाले ४ ओभरमा एक मेडनसहित १८ रन दिएर पाँच विकेट लिए । त्यस्तै, जोस हेजलउडले दुई हर्षल पटेल र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए ।
त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनायो । उसका लागि कप्तान फाफ डुप्लेसिसले उत्कृष्ट पारी खेले । उनले ५५ बलमा आठ चौका र दुई छक्कासहित अविजित ७३ रनको योगदान दिए ।
रजित पाटिदारले ३८ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४८ रन बनाए । त्यस्तै, ग्लेन म्याक्सवेलले २४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३३ रनको पारी खेले । दिनेश कार्तिकले आज पनि शानदार फिनिसिङ गरे ।
उनले आठ बलमा चार छक्का र एक चौकासहित अविजित ३० रनको आक्रामक पारी खेले । कार्तिकले अन्तिम ओभरमा लगातार तीन छक्काक र एक चौका हिर्काए । आज विराट कोहली भने शून्यमै आउट भए ।
हैदराबादका लागि जगदिस सूचितले दुई र कार्तिक त्यागीले एक विकेट लिए । आजको जितसँगै बैंग्लोर चौथो स्थानमै कायम रहन सफल भएको छ । हैदराबाद पनि हारका बाबजुद सातौं स्थानमा छ ।
बैंग्लोर र हैदराबादबीचको खेलपछि यस्तो बन्यो अंक तालिका :