काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ५५ औं खेलमा चेन्नई सुपर किंग्स (सिएसके) ले दिल्ली क्यापिटल्सलाई २०९ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनायो ।
उसका लागि डेभन कन्वेले शानदार पारी खेले । उनले ४९ बलमा सात चौका र पाँच छक्कासहित ८७ रन बनाए । जारी सिजनमा कन्वेको यो लगातार तेस्रो अर्धशतक हो । त्यस्तै, ऋतुराज गायकवाडले ४१, शिवम् दुवेले ३२ र कप्तान महेन्द्रसिंह धोनीले आठ बलमा अविजित २१ रनको योगदान दिए ।
दिल्लीका लागि एनरिक नोर्टजेले तीन, खलिल अहमदले दुई र मिचेल मार्शले एक विकेट लिए । आजै भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लेसनराइजर्स हैदराबादलाई ६७ रनले हरायो ।
बैंग्लोरको यो सातौं जित हो । उसले १२ म्याच खेल्दा पाँच खेलमा भने हारको सामना गरेको छ । यता हैदराबादले भने ११ म्याच खेल्दा ६ खेलमा हार बेहोरेको छ । उसले पाँच खेलमा भने जित प्राप्त गरेको छ ।
आफ्नो ११ औं खेलमा बैंग्लोरले दिएको १९३ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९.२ ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । उसका लागि राहुल त्रिपाठीले ५८, एडन माक्र्मकले २१ र निकालश पूरनले १९ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
आरसिबीका लागि वानिन्दु हसरंगाले ४ ओभरमा एक मेडनसहित १८ रन दिएर पाँच विकेट लिए । त्यस्तै, जोस हेजलउडले दुई हर्षल पटेल र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए ।
त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनायो । उसका लागि कप्तान फाफ डुप्लेसिसले उत्कृष्ट पारी खेले । उनले ५५ बलमा आठ चौका र दुई छक्कासहित अविजित ७३ रनको योगदान दिए ।
रजित पाटिदारले ३८ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४८ रन बनाए । त्यस्तै, ग्लेन म्याक्सवेलले २४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३३ रनको पारी खेले । दिनेश कार्तिकले आज पनि शानदार फिनिसिङ गरे ।
उनले आठ बलमा चार छक्का र एक चौकासहित अविजित ३० रनको आक्रामक पारी खेले । कार्तिकले अन्तिम ओभरमा लगातार तीन छक्काक र एक चौका हिर्काए । आज विराट कोहली भने शून्यमै आउट भए ।
हैदराबादका लागि जगदिस सूचितले दुई र कार्तिक त्यागीले एक विकेट लिए । आजको जितसँगै बैंग्लोर चौथो स्थानमै कायम रहन सफल भएको छ । हैदराबाद पनि हारका बाबजुद सातौं स्थानमा छ ।