Khabar Board

चेन्नईविरुद्ध दिल्लीको फराकिलो हार, रोमाञ्चक बन्यो प्लेअफ दौड

काठमाडौं ।

भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्स (सिएसके) सँग दिल्ली क्यापिटल्स पराजित भएको छ । गएराति सम्पन्न खेलमा दिल्ली चेन्नईविरुद्ध ९१ रनले पराजित भएको हो । यो हारले प्लेअफ पुग्ने दिल्लीको सम्भावना केही कमजोर बनेको छ ।

दिल्लीले अब प्लेअफ पुग्न बाँकी तीन खेलमा लगातार जित हात पार्नुपर्नेछ । उसले ११ म्याच खेल्दा ६ मा हार र पाँच खेलमा जित हात पारेको छ । आफ्नो ११ औं खेलमा चेन्नईले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १७.४ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो ।

उसका लागि मिचेल मार्शले २५, शार्दुल ठाकुरले २४, कप्तान ऋषभ पन्तले २१ र डेविड वार्नरले १९ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । चेन्नईका लागि मोइन अलीले तीन, ड्वेन ब्रावो, सिमरजीत सिंह, मुकेश चौधरीले दुई/दुई र महेश थीक्क्षणाले एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनायो । उसका लागि डेभन कन्वेले शानदार पारी खेले । उनले ४९ बलमा सात चौका र पाँच छक्कासहित ८७ रन बनाए ।

जारी सिजनमा कन्वेको यो लगातार तेस्रो अर्धशतक हो । त्यस्तै, ऋतुराज गायकवाडले ४१, शिवम् दुवेले ३२ र कप्तान महेन्द्रसिंह धोनीले आठ बलमा अविजित २१ रनको योगदान दिए । दिल्लीका लागि एनरिक नोर्टजेले तीन, खलिल अहमदले दुई र मिचेल मार्शले एक विकेट लिए ।

जारी लिगमा चेन्नईको यो चौथो जित हो । यो जितसँगै चेन्नईले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । उसले ११ म्याच खेल्दा सात खेलमा भने हारको सामना गरेको छ । चेन्नईले अब प्लेअफ पुग्न बाँकी तीन खेलमा लगातार जितसँगै अन्य टिमको नतिजा पनि पर्खनुपर्नेछ ।

जितसँगै चेन्नई अंक तालिकाको सातौं स्थानमा पनि उक्लिएको छ । दिल्ली हारका बाबजुद पाँचौं स्थानमै कायमै छ । आइतबार नै भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लेसनराइजर्स हैदराबादलाई ६७ रनले हरायो ।

५५ म्याच सकिँदा यस्तो बन्यो अंक तालिका, कुन टिमको स्थान कहाँ? हेर्नुस् तालिका :

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.