काठमाडौं ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । घरेलु टोली सिटीले न्युकासल युनाइटेविरुद्ध ५–० को जित निकालेको हो । यो जितसँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । इतिहाद स्टेडियममा खेलको १९ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
३८ औं मिनेटमा एम्रिक लापोर्टले टोलीको अग्रता दोब्बर बनाए । ६१ औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटी ३–० ले अघि बढ्यो । ९० औं मिनेटमा फिल फोडेनले घरेलु टोलीका लागि चाैथो गोल गरे ।
थप गरिएको समयमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ५–० को फराकिलो जित दिलाए । यो जितसँगै सिटीले ३५ खेलमा ८६ अंक जोड्दा पराजित न्युकासल ३६ खेलबाट ४३ अंकका साथ १३ औं स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा वेस्ह्याम युनाइटेडले नर्विच सिटीलाई ४–० ले हरायो । आर्सनलले लिड्स युनाइटेड तथा एभर्टनले लेस्टर सिटीमाथि समान २–१ को जित हात पारे ।