काठमाडौं ।
एकदिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा जिम्बाब्वे ‘ए’ विरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान सन्दीप लामिछानले टस जितेर पहिलो फिल्डङ गर्ने निर्णय लिएका हुन् ।
गएरातिको वर्षाका कारण मैदान हिलाम्य हुँदा टसमा ढिलाइ भएकाले खेललाई ३३ ओभरमा झारिएको छ । दुवै टोली आज जित निकाल्दै सिरिजमाथि कब्जा जमाउने प्रयासमा छन् । पहिलो खेलमा जिम्बाब्वे तीन विकेटले विजयी हुँदा दोस्रो खेल नेपालले नौ विकेटले आफ्नो पक्षमा पारेको थियो ।
नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ । उसले आरिफ शेख र सागर ढकालको स्थानमा बसिर अहमद र किशोर महतोलाई मौका दिएको हो । नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), कुशल भर्तेल, आसिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, बसिर अहमद, करण केसी, सोमपाल कामी र किशोर महतो ।