काठमाडौं ।
एकदिवसीय सिरिजको निर्णायक तथा अन्तिम खेलमा पाहुना टोली जिम्बाब्वे ‘ए’ ले नेपाललाई २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले पिच ओसिलो भएका कारण ३३ ओभरमा झारिएको खेलमा ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनायो ।
उसका लागि तडिवानासे मरुमणिले ५०, कुडजाइ मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योंगाले २४, ल्यकु जोंग्वेले १९, केफास जुवाओले १६ र इनोसेन्ट कियाले १२ रन बनाए ।
नेपालका लागि किशोर महतोले सात ओभरमा एक मेडनसहित ४३ रन दिएर पाँच विकेट लिए । त्यस्तै, सोमपाल कामीले दुई, दीपेन्द्रसिंह ऐरी र करण केसीले एक/एक विकेट हात पारे । कप्तान सन्दीप लामिछाने भने आज महँगा सावित भए । उनले ६ ओभरमा ९.३३ को इकोनमीमा बिनाविकेट ५६ रन खर्चिए ।
सन्दीप पहिलो इनिङ्समा सर्वाधिक खर्चिला बलर बने । तीन खेलको सिरिजमा दुवै टिमले एक/एक खेल जितेका छन् । नेपाल पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो । तर, दोस्रो म्याचमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले हरायो ।
