काठमाडौं ।
एकदिवसीय सिरिजको निर्णायक तथा अन्तिम खेलमा पाहुना टोली जिम्बाब्वे ‘ए’ विरुद्ध नेपाली युवा तीव्र गतिका बलर किशोर महतोले उत्कृष्ट बलिङ गरेका छन् । उनले डेब्यू म्याचमै सात ओभरमा एक मेडनसहित ४३ रन दिएर सर्वाधिक पाँच विकेट लिए ।
२२ वर्षीय महतोले इनोसेन्ट कियालाई १२ रनमा आउट गर्दै नेपाललाई ब्रेकथ्रु दिलाए । त्यस्तै, उनले कुड्जाइ मौन्जे (३९), केफास जुवाओ (१६), कप्तान टोनी मुन्योंगा (२४) र ब्रेण्डन मभुता (६) लाई पनि पवेलिएनको दिशा देखाए । डेब्यू खेलमै महत्वपूर्ण ब्याटरलाई आउट गर्दै किशोरले टिमलाई ठूलो योगदान दिए । पहिलो खेलमै राम्रो बलिङ गरेका उनले शुभ संकेत देखाएका छन् ।
सन्दीप महँगा सावित
लेग स्पिनर तथा कप्तान सन्दीप लामिछाने भने निर्णायक खेलमा महँगा सावित भए । ६ ओभर बलिङ गरेका उनले ९.३३ को इकोनमीमा बिनाविकेट ५६ रन खर्चिए । सन्दीपले सिरिजको पहिलो र दोस्रो खेलमा भने विकेट लिएका थिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले पिच ओसिलो भएका कारण ३३ ओभरमा झारिएको खेलमा ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनायो । उसका लागि तडिवानासे मरुमणिले ५०, कुडजाइ मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योंगाले २४, ल्यकु जोंग्वेले १९, केफास जुवाओले १६ र इनोसेन्ट कियाले १२ रन बनाए ।
नेपालका लागि किशोर महतोले सात ओभरमा एक मेडनसहित ४३ रन दिएर पाँच विकेट लिए । त्यस्तै, सोमपाल कामीले दुई, दीपेन्द्रसिंह ऐरी र करण केसीले एक/एक विकेट हात पारे । कप्तान सन्दीप लामिछाने भने आज महँगा सावित भए । उनले ६ ओभरमा ९.३३ को इकोनमीमा बिनाविकेट ५६ रन खर्चिए ।
सन्दीप पहिलो इनिङ्समा सर्वाधिक खर्चिला बलर बने । तीन खेलको सिरिजमा दुवै टिमले एक/एक खेल जितेका छन् । नेपाल पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो । तर, दोस्रो म्याचमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले हरायो ।
