काठमाडौं ।
जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज घरेलु टोली नेपालले जितेको छ । सोमबार भएको निर्णायक तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै नेपालले तीन खेलको सिरिज २–१ ले जितेको हो । योसँगै नेपालले इतिहास रचेको छ ।
पहिलोपटक जिम्बाब्वेको कुनै पनि टोलीविरुद्धको सिरिज जित्दै नेपालले इतिहास रचेको हो । फाइनलमा जिम्बाब्वेले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि प्रारम्भिक ब्याटर कुशल भुर्तेलले शानदार पारी खेले । उनले ६१ बलमा सात चौका र चार छक्कासहित ८५ रन बनाए ।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतकीय पारी खेले । उनले ४३ बलमा चार चौका र तीन छक्कासहित अविजित ६० रनको योगदान दिए । विनोद भण्डारी २८ रनमा अविजित रहे । आसिफ शेख २९ र सुनिल धमला ६ रनमा आउट भए । रोहितकुमार पौडेलले भने खाता खोल्न सकेनन् । जिम्बाब्वेका लागि ब्रेण्डन मभुताले तीन र ब्राड इभन्सले एक विकेट लिए ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले पिच ओसिलो भएका कारण ३३ ओभरमा झारिएको खेलमा ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनायो ।
उसका लागि तडिवानासे मरुमणिले ५०, कुडजाइ मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योंगाले २४, ल्यकु जोंग्वेले १९, केफास जुवाओले १६ र इनोसेन्ट कियाले १२ रन बनाए ।
नेपालका लागि किशोर महतोले सात ओभरमा एक मेडनसहित ४३ रन दिएर पाँच विकेट लिए । त्यस्तै, सोमपाल कामीले दुई, दीपेन्द्रसिंह ऐरी र करण केसीले एक/एक विकेट हात पारे । कप्तान सन्दीप लामिछाने भने आज महँगा सावित भए ।
उनले ६ ओभरमा ९.३३ को इकोनमीमा बिनाविकेट ५६ रन खर्चिए । नेपाल पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो । तर, दोस्रो म्याचमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले हरायो ।