काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ५६ औँ खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले मुम्बई इण्डियन्सलाई १६६ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनायो ।
उसका लागि वैंकटेश अय्यर, नितिश राणाले ४३/४३ र रिंकु सिंहले अविजित २३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । मुम्बईका लागि जसप्रित बुमराहले शानदार बलिङ गरे । उनले ४ ओभरमा एक मेडनसहित १० रन दिएर महत्वपूर्ण पाँच विकेट लिए ।
आईपीएलमा बुमराहको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । यसअघि आईपीएलमा उनको उत्कृष्ट स्पेल १४ रन दिएर ४ विकेट लिनु थियो । हालसम्म बुमराहले आईपीएलमा ११८ म्याचमा १४० विकेट लिएका छन् ।