Khabar Board

गुजरातले लखनउलाई दिन सकेन बलियो लक्ष्य, इनिङ्स अवधिभर एक छक्का मात्र प्रहार !

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ५७ औं खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई १४५ रनको लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनायो ।

उसका लागि शुभमन गिलले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा सात चौकासहित अविजित ६३ रन बनाए । त्यस्तै, डेविड मिलरले २६, राहुल तेवटियाले नटआउट २२, कप्तान हार्दिक पाण्ड्याले ११ र म्याथ्यू वेडले १० रनको योगदान दिए ।

गुजरातले पहिलो इनिङ्स अवधिभर एक मात्र छक्का हिर्काउन सफल भयो । उसका लागि डेविड मिलरले जेसन होल्डरको बलमा छक्का हिर्काएका थिए । बाँकी ब्याटरले भने छक्का हिर्काउन सकेनन् । गुजरातले आफ्नो इनिङ्समा १५ चौका मात्र हिर्काउन सक्यो ।

लखनउका लागि आवेस खानले दुई, जेसन होल्डर र मोहसिन खानले एक/एक विकेट लिए । आजको खेल जित्ने टोली प्लेअफमा प्रवेश गर्नेछ । जारी सिजनमा लखनउले ११ म्याच खेल्दा आठमा जित र तीन खेलमा हार बेहोरेको छ । ऊ अंक तालिकाको शीर्षमा छ ।

गुजरातले पनि ११ खेलमध्ये आठमा जित र तीन खेलमा हारको सामना गरेको छ । ऊ १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । यी दुवै टिमले यसपालिदेखि आईपीएल खेलिरहेका हुन् । दुवै टिमले डेब्यू सिजनमै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.