काठमाडौं । आईसीसी टी–२० विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई अमेरिकन दूतावासले बिदाइ गरेको छ। दूतावासले शुक्रबार एक कार्यक्रममा नेपाली टोलीलाई बिदाइ गरेको हो। १० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली टोली शनिबार वेस्ट इन्डिज जानेछ।
वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप ९ स्थानमा ५५ खेल हुनेछ। कुल २८ दिन चल्ने विश्वकपमा २० टोलीले स्पर्धा गर्नेछन्। सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ।
नेपालले सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्न लागेको हो। विश्वकप अघि नेपाली टोलीले वेस्ट इन्डिजमा अभ्यास गर्नेछ। विश्वकपमा नेपाल नेदरल्याण्स्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको समूह डी मा छ।
समूहका शीर्ष २ टोलीले सुपर ८ मा स्थान पक्का गर्नेछन्। सुपर ८ बाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। जुन १ देखि सुरु हुने विश्वपकपको फाइनल खेल जुन २९ मा हुनेछ। आफ्नो पहिलो खेलमा नेपालले जुन ४ मा नेदरल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।
दोस्रो खेलमा जुन १२ मा श्रीलंकासँग खेल्नेछ। जुन १५ मा दक्षिण अफ्रिका र समुह चरणको अन्तिम खेलमा जुन १७ मा बंगलादेशसँग खेल्नेछ।
नेपाल रहेको समुहका पाँच टोलीमध्य अहिलेसम्म दक्षिण अफ्रिकाले मात्र टोली घोषणा गरेको छ।
विश्वकप खेल्ने टोलीः रोहित पौडेल, आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनास बोहोरा, सागर ढकाल, कमल सिंह ऐरी
तस्वीर : CAN