काठमाडौं ।
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज दोस्रो म्याच खेल्दैछ । नेपालले दोस्रो खेलमा यूएईको सामना गर्न लागेको हो । नेपाल-यूएईबीचको खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो । तर, बलियो टोली मानिएको यूएईविरुद्ध जित निकाल्न नेपाललाई सहज भने पक्कै हुने छैन ।
यूएईले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई १ सय ६० रनले हराएको थियो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकामा हुने विश्वकप खेल्न पाउनेछ ।
नेपालको सम्भावित प्लेइङ–११ : किरण कुँवर, आश्मा पुलामी मगर, कृतिका मरासिनी (कप्तान), स्नेहा महरा, श्रीष्टि जैशी, अनु कडायत, अलिशा यादव, साना प्रविण, सानु राजवंशी, मनिषा राना मगर र अञ्जली बिक ।
नेपालकाे पूर्ण टिम : कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टी जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ (विकेटकिपर), आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।
यो पनि : नेपालले ह्युस्टन हरिकेन्ससँग खेल्दै, यस्तो छ सम्भावित प्लेइङ–११
