सन्दीप डम्बुलापछि अर्काे ठाउँमा पनि भए अनुबन्धित, टिममा हुने छन् यी खेलाडी

Image

काठमाडौं ।

नेपाली कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी लिग खेल्ने भएका छन् । जमैकाले २०२२ को सिजनका लागि सन्दीपलाई अनुबन्ध गरेको सीपीएलले जनाएको छ ।

सन्दीपले २०१८ देखि वेस्ट इन्डिज क्रिकेट बोर्डले आयोजना गर्दै आएको सीपीएल खेल्दै आएका छन् । गत संस्करण उनी ट्रिन्बागो नाईट राईडर्समा अनुबन्ध भएका थिए । तर,सोही समयमा नेपाली राष्ट्रिय टोलीको ओमान टुर परेकाले उनले सहभागीता जनाउन पाएनन् ।

सन्दीपले जमैकाबाट दोस्रो पटक खेल्न लागेका हुन् । २०२० को आठौं संस्करण सन्दीपले जमैकाबाट खेलेका थिए । जमैकाले पाँच विदेशी खेलाडीको कोटामा ५ जनालाई ड्राफ्ट अगाडी नै अनुबन्ध गरेको हो ।

जमैकामा सन्दीपसँगै पाकिस्तानका मोहम्मद अमिर र इमाद वासिम रहेका छन् । अष्ट्रेलियाका क्रिस ग्रीन तथा दक्षिण अफ्रिकाका मिगाली पिटोरियस् रहेका छन्

सीपीएल अगस्ट ३० बाट सुरु हुनेछ । दशौं संस्करणको प्रतियोगिता सेप्टेम्बर ३० सम्म चल्नेछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।

हिजाे मात्रै लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) मा डम्बुला जायन्ट्सबाट खेल्नका लागि अनुबन्धित भएका थिए । मंगलबार भएको ड्राफ्टबाट सन्दीप ४० हजार डलरमा डम्बुलामा अनुबन्धित भएका हुन् । आज फेरी अर्काे अनुबन्ध हुने माैका पाएका छन् ।

यो पनि : सन्दीपले ‘लंका प्रिमियर लिग’ खेल्ने, लाखौं रुपैयाँमा भए अनुबन्ध