काठमाडौं ।
क्रिस्टियानो रोनाल्डो नयाँ क्लबको खोजीमा छन् । तर, त्यो उनको पूर्व क्लब रियल म्याड्रिड भने नहुने स्पेनिस पत्रिका मार्काले बताएको छ । पोर्चुगिज खेलाडी च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्न चाहन्छन् र प्रतियोगितामा आफ्नो गोल सङ्ख्या थप गर्न चाहन्छन् । जुन यो सिजन म्यानचेस्टर युनाइटेडमा सम्भव छैन ।
आगामी फेब्रुअरीमा ३८ वर्ष पुग्ने रोनाल्डो क्लबमा नै रहने युनाइटेडका प्रशिक्षक टेन ह्यागले बताइरहँदा उनी अझै क्लबमा फर्किएका छैनन् । यसैबीच बुधबार रियलमा फर्किनका लागि रोनाल्डो र फ्लोरेन्टिनो पेरेजबीच छलफल भएको समाचार आए पनि त्यसमा कुनै सत्यता नभएको पत्रिकाले बताएको छ ।
म्याड्रिडमा रोनाल्डो देखिएपछि यो हल्ला झनै फैलिएको थियो । तर पत्रिकाका अनुसार रियलको योजनामा रोनाल्डो छैनन् र दुई पक्षबीच कुनै प्रकारको छलफल भएको छैन । रोनाल्डोलाई भित्र्याउन यसअघि चेल्सी र बार्यन म्युनिखले पनि अस्वीकार गरिसकेका छन् ।
साफ यू–२० च्याम्पियनसिप; आयुष घलानले नेपाली यू-२० टिमको कप्तानी गर्ने:
साफ यू–२० च्याम्पियनसिप सहभागिता जनाउन नेपाल टोली शुक्रबार भारत जाने भएको छ। एन्फाले शुक्रबार गर्ने विदाई कार्यक्रममा सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका आयुष घलानलाई यू-२० टिमको कप्तान घोषणा गर्दैछ।
नेपालको लक्ष्य उपाधि जित्ने रहेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने दाबि गरेका छन्। जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदैछन्।
नेपालले च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ।
नेपाली टिम : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख (गोलकिपर), अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा (डिफेन्डर), दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान (मिडफिल्डर). रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी (फरवार्ड)