आर्सनलद्वारा चेल्सीमाथि फराकिलो जित, यी खेलाडीले दिलाए रोमाञ्चक जित

Image

काठमाडौं ।

प्रि–सिजनको मैत्रीपूर्ण खेलमा लन्डन क्लब चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनलसँग लज्जास्पद हार बेहोरेको छ । फ्लोरिडामा आइतबार बिहान भएको खेलमा चेल्सीलाई आर्सनलले ४-० गोल अन्तरले हराएको हो ।

आर्सनललाई जित दिलाउन ग्राबियल जिसस, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट सम्बिले एक एक गोल गरे । खेलको १५ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । उनी यसै सिजन म्यानचेस्टर सिटीबाट आर्सनल आएका हुन् ।

३६ औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । खेलको ६६ औं मिनेटमा बुकायो साकाले गोल गरेपछि आर्सनल ३-० ले अघि रह्यो । त्यसपछि सब्सिच्युट अल्बर्ट साम्वी लोकंगाले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै चेल्सीलाई फराकिलो हार चखाए । अल्बर्ट साम्वी लोकंगा ७८औं मिनेटमा ग्रानिट झाँकाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

प्रि–सिजनको आर्सनलको यो लगातार चौथो जित हो । यसअघि आर्सनलले नर्नवर्ग, एभर्टन र ओर्लान्डो सिटीलाई पराजित गरेको थियो । प्रि–सिजनमा पहिलो हार बेहोरेको चेल्सीले यसअघि क्लब अमेरिकालाई हराउँदा चार्लाेटसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

यो पनि : म्यानचेस्टर सिटीले बायर्नलाई हरायो, हालाण्ड बने जितको ‘हिरो’

यो पनि : फ्रान्स पहिलो पटक महिला युरोकपको सेमिफाइनलमा

यो पनि : भारत पुगेर यस्तो भन्छन् नेपाली युवा टोलीका कप्तान आयुष घलान (भिडियो सहित)