काठमाण्डौं ।
नेपाली युवा टोलीका कप्तान आयुष घलानले भारतमा यसैसाता आयोजना हुने यू–२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने लक्ष्य रहेको बताएका छन् । यू–२० साफ च्याम्पियनसिप खेल्न भारतको भुवनेश्वरमा रहेका नेपाली राष्ट्रिय अण्डर २० टोलीका कप्तान आयुष घलानले साफ यू–२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने लक्ष्य रहेको बताएका हुन् ।
उनले च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सबिरुद्ध हुने पहिलो खेलमा जित निकाल्दै विजयी शुरुवात गर्ने उद्देश्य रहेको बताए । आयुषले भने,‘हाम्रो चाँहि अहिलेको लक्ष्य भनेको माल्दिभ्ससँगको पहिलो खेलमा तीन अंक हासिल गर्नु हो र साफ च्याम्पियनसिपको फाईनलमा पुग्ने लक्ष्य छ ।’
आयुषले यू–२० टोलीको कप्तान हुन पाउनु निकै ठूलो उपलब्धि रहेको बताउँदै कप्तानीको जिम्मेवारीको कुनै दबाब नपर्ने स्पष्ट समेत पारे । उनले साफ च्याम्पियनसिप जित्न चाहेपनि अधिक आत्मविश्वास नबोकी च्याम्पियनसिपमा खेल्ने तयारी चलिरहेको जिकिर गरेका छन् ।
भुवनेश्वर पुगेको राष्ट्रिय टोलीले शनिबार पहिलो दिनको अभ्यास समेत पुरा गरेको छ । टोलीको मुख्य प्रशिक्षकमा मेघराममज केसी छन् भने सहायक प्रशिक्षकमा बालगोपाल साहुखल रहेका छन् । यस्तै गोलकिपिङ्ग प्रशिक्षकमा उज्जल मानन्धर र ब्यवस्थापकमा दिवाकर घले छन् ।
च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले २५ जुलाईमा माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले श्रीलंकासँग जुलाई २७ मा, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्ने छ । च्याम्पियनसिपको सबै खेल भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ ।
साफ च्याम्पियनसिप खेल्ने नेपाली टोली : गोलकिपर – ईश्वर गुरुङ्ग, उनेश चौधरी, जियारथ शेख । डिफेन्डर – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा । मिडफिल्डर – दिपेश गुरुङ्ग, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ्ग, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान । फरवार्ड – दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी ।
महिला साफ च्याम्पियनसिप दशरथ रंगशालामा हुने, यस्तो छ खेल तालिका
नेपालमा तय भएको महिला साफ च्याम्पियनसिप फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ रंगशालामा गर्ने निर्णय गरेको हो ।
एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले प्रतियोगिता दशरथ रंगशालामा आयोजना हुने जानकारी गराए । ‘महिला साफ दशरथ रंगशालामै आयोजना हुन्छ । यसबारे हामीले साफलाई जानकारी गराईसकेका छौँ,’ खड्काले भने ।
एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यस अघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो । बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।