नेपाल र श्रीलंकाबीचको खेल आज, यस्तो छ खेल सुरु हुने समय

Image

काठमाडौं ।

साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज बुधबार दोस्रो खेल खेल्दैछ । नेपालले दोस्रो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।

यदि आज श्रीलंकालाई हराएमा नेपालले इतिहास रच्नेछ । नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।

माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो ।कप्तान आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए ।

त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे ।दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो । खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

जसमा कृतिस चुकेनन् । त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए । त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो । यता श्रीलंका भने आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। हिजो भएको पहिलो खेलमा श्रीलंकालाई १-० गोल पराजित गरेको थियो।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

श्रीलंकाविरुद्ध नेपालको सम्भावित सुरुवाती–११ : ईश्वर गुरुङ (गोलरक्षक), आयुष घलान (कप्तान), मनग्य नकर्मी, अमर श्रेष्ठ, कृतिषरत्नु सञ्जु, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइबा, सुगम सुवाल र सन्दीप कार्की ।