काठमाडौं ।
भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपाली युवा टिमले सुरूवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्समाथि ४-० गोल र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो।
दुई खेलमा सात गोल गरेको नेपालले अहिलेसम्म गोल खाएको छैन। प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको नेपाली टिमका लागि कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले दुईदुई गोल गरेका छन्। कप्तान आयुष घलान, दिपेश गुरुङ र सुगम सुवालले एकएक गोल गरेका छन्।
प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालका प्रशिक्षक मेघराज केसीले प्रत्येक खेलमा केन्द्रीत हुने बताएका छन्। प्रतियोगितामा अब नेपालले बंगलादेश र भारतसँग खेल्न बाँकी छ। दुवै खेल नेपालका लागि वास्तविक परीक्षा हुन्।
किनभने भारतलाई प्रतियोगिताको बलियो दाबेदार मानिएको छ। लामो समयदेखि सँगै रहेर अभ्यास गरेको भारतीय टिमलाई घरेलु मैदानको समेत फाइदा हुनेछ।
बंगलादेशले पनि प्रतियोगिताका सुरूवाती दुई खेलमा जित निकालेको छ। पहिलो खेलमा श्रीलंकालाई हराएको बंगलादेशले दोस्रो खेलमा घरेलु टिम भारतमाथि सनसनीपूर्ण जित निकालेको थियो।
भारतले आफ्नो दोस्रो खेल आज श्रीलंकासँग खेल्दैछ। समूहका शीर्ष दुई टिम फाइनलमा पुग्ने व्यवस्थाअनुसार भारतको फाइनल यात्रामा आजको खेल महत्वपूर्ण छ।
भारतका लागि नेपालविरूद्धको खेल अझ महत्वपूर्ण सावित हुनेछ। नेपाल र भारतबीच आगामी आइतबार प्रतिस्पर्धा हुँदैछ।
यो खेल नेपालका लागि महत्वपूर्ण सावित हुने पक्का छ। किनभने सुरुवाती दुई खेलमा लयमा देखिएको नेपालले बलियो भारतविरूद्ध देखाउने खेलले नेपालको स्तर निर्धारण गर्नेछ।
आइतबार नेपालविरूद्ध अंक गुमाएको अवस्थामा भारत फाइनल पुग्नबाट बञ्चित हुने अवस्था आउन सक्नछ। त्यसैले भारतले नेपालविरूद्ध सम्पूर्ण शक्ति खर्चनेछ।जितका लागि भारत दबाबमा भएको फाइदा उठाउन सके नेपाली टिम अन्तिम खेलअघि फाइनल पुग्न सक्नेछ।
भारतका प्रशिक्षक शान्मुगम वेंकटेशले बंगलादेशसँग हारको दोष आफ्नो भएको बताएका थिए। उनले अबका खेलदेखि गल्ति सुधार गरेर अघि बढ्ने समेत बताएका थिए। त्यसैले प्रशिक्षक शान्मुगम बाँकी रहेका तीन खेलमा अंक गुमाउन चाहदैनन्।
सुरुवाती दुई खेलमा जित हात पारेको अवस्थामा नेपालका लागि आइतबार भारतविरूद्ध हुने खेल वास्तविक परीक्षा हुने पक्का छ। भारतसँग आइतबार खेलेपछि नेपालले आफ्नो अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ।















