काठमाडौं ।
आगामी महिना नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारत सहभागी हुन नपाउने भएको छ। अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई निलम्बन गरेसँगै भारतीय टिमले महिला साफ च्याम्पियनसिपमा भाग लिन नपाउने भएको छ।
भदौ २१ देखि असोज ३ सम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा अब ६ टिमले मात्र भाग लिनेछन्। नेपालमा लगातार दोस्रो पटक महिला साफ हुन लागेको हो। यसअघि सन् २०१९ मा विराटनगरमा महिला साफ भएको थियो।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। नेपाल रहेको समूह ‘बी’ मा भुटान र श्रीलंका छन्। समूह ‘ए’ मा पाकिस्तान, माल्दिभ्स र बंगलादेश छन्। यो समूहमा भारत पनि रहेको थियो।
पहिलाको भन्दा अब च्याम्पियनसिपमा ३ खेल कम गरी ९ खेल मात्र हुनेछ। समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। त्यस आधारमा समूह चरणमा ६ खेल तथा २ सेमिफाइनल र फाइनल खेल हुनेछ।
भारतले खेल्ने नपाउने भएसँगै साफले खेल तालिका संशोधन गर्ने सम्भावना छ। अहिलेसम्म सम्पन्न भएका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो। नेपाल भने चार पटक फाइनल पुगेर पराजित भएको छ। चारै पटक नेपाल भारतसँग पराजित भएको थियो।
अब नेपाललाई उपाधि जित्न सहज हुने भएको छ। यसअघि फाइनलमा पुगेर पनि भारत नै नेपालका लागि तगारो बन्दै आएको थियो। भारत प्रतियोगिताबाट बाहिरिएपछि नेपाल टोली च्याम्पियन बन्ने सम्भावना बलियो भएको छ।
अल इन्डिया फुटबल फेडेरेसनमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले प्रतिबन्ध लगाएको हाे। याेसँगै भारतले आगामी अक्टाेबरमा आयाेजना गर्न लागेकाे यू-१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने निश्चित भएको छ।
नेपाल र केन्याबीचको सिरिज हुने नैरोवी मैदान कस्तो ?
नेपाल पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज तथा तीन खेलको एकदिवसीय सिरिजका लागि केन्याको भ्रमणमा निस्कदै छ । नेपालले सिरिजका सबै आठ खेल नै केन्याको नैरोवीमा रहेको जिमखाना मैदानमा खेल्नेछ । केन्याको राजधानी नैरोवीमा रहेको यस मैदान केन्या क्रिकेटको ऐतिहासिक मैदान हो ।
यस मैदानमा १९९६ मा पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल भएको थियो । यस मैदानमा २००३ को आईसीसी एकदिवसीय विश्वकपका दुई खेल आयोजनाको अवसर पाएको थियो । यस विश्वकपमा नै केन्याले सेमिफाईनलसम्मको यात्रा गरेको थियो । यस मैदानमा २४ एकदिवसीय अन्तराष्ट्रिय शतक प्रहार भएका छन् । अष्ट्रेलियाका म्याथ्यु हेडनले २००२ मा पाकिस्तानविरुद्धको एकदिवसीय अन्तराष्ट्रियमा बनाएको १ सय ४६ रन नै यस मैदानमा बनेको सर्वाधिक ठुलो व्यक्तिगत स्कोर हो ।
यस मैदानमा २००७ मा बंगलादेश तथा केन्याबीच पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय भएको थियो । यस मैदानमा टी-ट्वान्टी अन्तराष्ट्रियको पहिलो ईनिङमा बनेको सबैभन्दा बढी रन १ सय ९१ हो । दोस्रो ईनिङमा बनेको सबैभन्दा बढि रन १ सय ६१ हो । पहिलो ईनिङमा बनेको कम रन भने ९२ तथा दोस्रो ईनिङको कम रन भने ९३ हो ।
एकदिवसीय अन्तराष्ट्रिय तर्फको उत्कृष्ट बलिङ भने ९ ओभरमा २३ रन दिएर ६ विकेट लिनु नै हो । यस मैदानमा २०१० बाट कुनै पनि अन्तराष्ट्रिय खेल भएका छैनन् । सिरिजका लागि नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्नेछ । यस सिरिजका लागि नेपाली टोली अगस्ट २३ मा केन्या पुग्ने तालिका रहेको छ ।
क्यानले घरेलु टोली केन्यासँगको सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । नेपालले सुरुआतमा टी-ट्वान्टी सिरिज खेल्नेछ । पहिलो टी-ट्वान्टी अगस्ट २५ मा हुनेछ । यस्तै अन्तिम टी-ट्वान्टी अगस्ट ३० मा हुनेछ । पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुनेछ । नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ ।