Khabar Board

इंग्ल्याण्डले जित्यो टी–२० विश्वकप, यी खेलाडी बने जितका ‘हिरो’

काठमाडौं।

इंग्ल्याण्डले अष्ट्रेलियामा भएको आठौं संस्करणको आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ। आइतबार मेलबर्न क्रिकेट ग्राउन्डमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्याण्डले उपाधि उचालेको हो। पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

उसका जितमा बेन स्टोक्सले अर्धशतकीय पारी खेले। उनले ४९ बलमा ५ चौका र १ छक्काको मद्दतमा नटआउट ५२ रनको योगदान दिए। यस्तै, ह्यारी ब्रुकले २०, मोइन अलीले १९, कप्तान जोस बटलरले १७, फिल साल्टले १० र एलेक्स हेल्सले १ रन बनाए। लियाम लिभिङस्टोन १ रनमा अविजित रहे।

पाकिस्तानका लागि हरिस रउफले २ तथा मोहम्मद वसीम, शादाब खान र शाहीन शाह अफ्रिदीले १–१ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । उसका लागि शान मसूदले सर्वाधिक रन बनाए। उनले २८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन जोडेका हुन्।

यस्तै, कप्तान बाबर आजमले ३२, शादब खानले २० र मोहम्मद रिजवानले १५ रनको योगदान दिए। मोहम्मद हरिस ८, मोहम्मद वासीम ४, मोहम्मद नवाज ३ तथा इफ्तिखर अहमद शून्य रनमा आउट हुँदा शाहिन शाह अफ्रिदी ५ र हरिस राउफ १ रनमा अविजित रहे।

इंग्ल्याण्डका लागि साम करनले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा मात्र १२ रन दिँदै महत्वपूर्ण ३ विकेट लिए। उनले रिजवान, मसूद र मोहम्मद जवाजलाई आउट पारेका हुन्। स्पिनर आदिल राशिदले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट हात पारे। क्रिस जोर्डनले ४ ओभरमा २७ रन दिँदै २ विकेट तथा बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट झारे।

यससँगै इंग्ल्याण्डले दोस्रोपटक टी–२० विश्वकप जितेको छ। यसअघि इंग्ल्याण्डले सन् २०१० को टी–२० विश्वकप जितेको थियो। वेष्ट इण्डिजमा भएको सो विश्वकपमा उसले फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराएको थियो। यसका साथै इंग्ल्याण्डले वेष्ट इण्डिजको कीर्तिमान बराबर गरेको छ। वेष्ट इण्डिजले सन् २०१२ र २०१६ को टी–२० विश्वकप जितेको थियो।

इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले हराएर सुपर १२ को सुरुआत गरेको थियो। दोस्रो खेलमा आयरल्याण्डसँग डीएल पद्दतिमा ५ रनले पराजित इंग्ल्याण्डले तेस्रो खेल घरेलु टोली तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियासँग वर्षाका कारण खेल्न पाएन। चौथो खेलमा न्यूजिल्याण्डलाई २० रनले पराजित गरेको इंग्ल्याण्डले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ४ विकेटले हराएको थियो। सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएको थियो।

पाकिस्तान भने पहिलो खेलमा भारतसँग ४ विकेट तथा दोस्रो खेलमा जिम्बाब्वेसँग एक रनले अप्रत्यासित हार व्यहारेको थियो। पाकिस्तानले तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेट तथा महत्वपूर्ण मानिएको चौथो खेलमा दक्षिण अफ्रिकालाई डीएल पद्धतिको आधारमा ३३ रनले पराजित गर्‍यो। समूह चरणको पाँचौं तथा अन्तिम खेलमा बंगलादेशलाई पाँच विकेटले हराएको थियो। पहिलो सेमिफाइनलमा पाकिस्तानले न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गरेर फाइनलमा पुगेको थियो।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.