नेपाल र आयरल्यान्ड वल्भ्सबीचको तेस्रो तथा अन्तिम खेल अप्रिल १ मा हुने

Image

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको दोस्रो खेल पनि नेपाल ए पराजित भएको छ ।

दोस्रो खेलमा पनि नेपाल पराजित भएपछि आयरल्यान्डले सिरिज १ खेल अगावै जितेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ४० रनले पराजित भयो ।

आयरल्यान्डले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलब ४ ओभरमा अल आउट हुँदै १ सय ८४ रन मात्र बनायो ।

नेपालका लागि ओपनर देव खनालले २५ बलमा ७ चौकाको सहयोगमा ४७ रन बनाए । अर्का ओपनर लोकेश बमले १३ बलमा ३ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए । पहिलो विकेटका लागि बम र खनालले १९ बलमा ४७ रनको साझेदारी गरे पनि त्यसपछि खेलाडीबीच उल्लेख्य साझेदारी हुननसक्दा नेपालले सिरिज गुमाउन पुग्यो ।

बसिर अहमदले २३ बलमा ३ चौकाको सहयोगमा २७ रन बनाए । कप्तान विनोद भण्डारीले १३ बलमा १ चौका र ३ छक्काको सहयोगमा २६ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।

आयरल्यान्डका लागि कप्तान निल रकले ३४ बलमा १ चौका र ७ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय ईनिङ खेले । पिटर मोरले २६ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले ।

ओपनर जेम्स म्याकुलमले १३ बलमा ३ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । गारेथ डिलेनीले ८ बलमा १ छक्काको सहयोगमा १० रन बनाएका थिए । आयरल्यान्डले अन्तिम ओभरमा २५ रन बनाएको थियो ।

नेपालका लागि सागर ढकालले ३ र पवन सर्राफ र कमलसिंह ऐरीले समान १/१ विकेट लिए ।

शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वुल्भ्ससँग नेपाल ए २१ रनले पराजित भएको थियो ।

नेपाल र आयरल्यान्ड वल्भ्सबीचको तेस्रो तथा अन्तिम खेल अप्रिल १ मा हुनेछ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।