आयरल्याण्ड उल्भ्सविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

Image

काठमाडौं । आयरल्यान्ड वुल्भ्ससँगको तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा नेपाल ए ले आयरल्यान्ड वुल्भ्सलाई पराजित गरि सान्त्वना जित निकालेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा नेपाल ए ले आयरल्यान्ड वुल्भ्सलाई ३ रनले पराजित गर्यो ।

नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन मात्र बनायो ।

आयरल्यान्डका लागि गारेथ डिलेनी र मोर्गन टोपिङले अर्धशतक बनाए । डिलेनीले ३७ बलमा ५ चौका र ५ छक्का सहित ६८ रन बनाए । टोपिङले ३७ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६० रन बनाए । पाँचौ विकेटका लागि डिलेनी र टोपिङले १ सय ३१ रनको शतकीय साझेदारी गरेका थिए ।

ओपनर रोस अदिरले १४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए ।

नेपालका लागि विपीन खत्रीले ३ तथा राशिद खान, कमलसिंह ऐरी र नारायण जोशीले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा अविजित ९३ रनको अर्धशतकीय ईनिङ खेले ।

राशिद खानले १३ बलमा ३ छक्काको सहयोगमा २६ तथा बसिर अहमदले २१ बलमा १९ रन बनाए । कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित १९ तथा पवन सर्राफले १२ बलमा १३ रन बनाए ।
नेपालले अन्तिम ५ ओभरमा १ विकेट गुमाएर ८४ रन बनाएको थियो ।