काठमाडौँ। भारत भ्रमणमा रहेको नेपाल र बरोडा क्रिकेट एसोसिएसनबीचको खेल सरेको छ। एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बरोडा शुक्रबार भिड्दै छन्।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार गुजरातको वापीमा दिउँसो २:४५ बजे शुरू हुने भनिएको खेल २ घण्टा अगाडि सारिएको छ खेल १२:४५ बजेबाट शुरू हुने छ। जारी प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनमा पुगिसकेको छ। यता, बरोडा भने जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।
नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ठ लयलाई समात्दै बरोडालाई २७ रनले पराजित गरेको थियो।
बुधबार सम्पन्न तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको थियो।
जारी प्रतियोगितामा नेपाल शतप्रतिशत जितसहित ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। गुजरातको भने ४ अंक रहेको छ। गुजरातले दुवै खेलमा बरोडालाई पराजित गरेको थियो।
गुजरातले बरोडालाई ५७ रन र ५ विकेटले पराजित गरेको थियो। नेपाल र गुजरातले फाइनलमा स्थान बनाइसकेका छन्। फाइनल खेल चैत २५ गते हुने छ।