Khabar Board

मलेसियासँग खेल्दै नेपाल, यस्तो छ दुवैबीचको ‘हेड टु हेड’ नतिजा

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप शुक्रबारबाट ओमानमा सुरु हुदै छ । दश राष्ट्रको सहभागीता रहेको यस कपको पहिलो दिन नेपालले मलेसियाको सामना गर्दै छ ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा चारबाट सुरु हुदैछ । मलेसियालाई हराउँदै प्रिमियर कपमा सुखद सुरुआत गर्ने लक्ष्यमा नेपाल रहेको छ ।

नेपाल र मलेसियाबीच टी-२० आईमा हालसम्म नौ पटक भेट भएकोमा नेपाल आठ खेलमा विजयी हुँदा एक खेल मलेसियाले जितेको छ ।मलेसियासँगको पछिल्लो पाँच भेटमा भने नेपाल अपराजित छ ।

अन्तिम भेट : अन्तिम पटक नेपाल र मलेसिया गत वर्ष अक्टोबरमा नेपालमा आयोजित आईसीसी टि-२० विश्वकप एसिया छनोट फाइनलको समुह चरणको खेलमा आमने-सामने भएका थिए।

उक्त खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न उक्त खेलमा मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो। नेपालको जितमा ब्याटिंगतर्फ प्लेयर अफ द म्याच समेत घोषित भएका कुशल मल्लले ३४ बलमा २ चौका र ७ छक्का मद्दतले ६५ रन बनाएका थिए। यस्तै कुशल भुर्तेलले २४ बलमा ४३, आसिफ शेखले २३ बलमा ३२ तथा सन्दिप जोराले १६ बलमा अविजित १८ रनको योगदान दिएका थिए। बलिंगतर्फ अविनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए। मलेसियाको लागि ओपनर सयद अजिजले सर्वाधिक ६८ रनको योगदान दिंदा मुहम्मद अमिरले सर्वाधिक ३ विकेट लिएका थिए।

प्रिमियर कपमा नेपाल

प्रिमियर कपमा आयोजक ओमान, नेपाल, मलेसिया, हङकङ, युएई, बहराइन, कतार कुवेत, कम्बोडिया र साउदी अरेबिया सहभागी रहेका छन् ।

प्रतियोगितामा सहभागी दश राष्ट्रलाई दुई समूहमा विभाजन गरएिको छ । नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा मलेसिया, हङकङ, साउदी अरेबिया र कतार छन् । समूह बी मा आयोजक ओमानसहित युएई, कुवेत, कम्बोडिया र बहराइन छन् ।

प्रतियोगितामा नेपालको दोस्रो खेल बैशाख १ मा कतारसँग रहेको छ । दोस्रो खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ मा हुनेछ । नेपालले तेस्रो खेलमा बैशाख ३ मा हङकङसँग खेल्नेछ । यो खेल भने नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख ५ मा साउदी अरेबियासँग खेल्ने छ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी-२० फर्म्याटमा हुनेछ ।

नेपालको क्रिकेट टोली :  आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.