पाकिस्तानको कमजोर प्रदर्शनका कारण विश्वकप अघि इंग्ल्यान्डसँगको सिरिज गुमायो

Image

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप अघि पाकिस्तानले कमजोर प्रदर्शन गरेको छ । पाकिस्तानले इंग्ल्यान्डविरुद्धको चार खेलको टी-२० आई सिरिज २-० ले गुमाएको छ ।

सिरिजको चौथो खेल सात विकेटले गुमाउँदै सिरिज नै गुमाएको छ । पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्य इंग्ल्यान्डले १५ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डका लागि फिल साल्टले २४ बलमा ४५ तथा कप्तान जोस बटलरले २१ बलमा ३९ रन बनाए ।  जोनी बेयस्ट्रोले १६ बलमा २८ तथा विल ज्याक्सले १८ बलमा २० रन बनाए । पाकिस्तानका लागि हरिस रौउफले तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ दशमलब ५ ओभरमा १ सय ५७ रनमा अल आउट भयो । पाकिस्तानका लागि उस्मान खानले २१ बलमा ३८ तथा कप्तान बाबर अजामले २२ बलमा ३६ रन बनाए ।

मोहम्मद रिजवानले १६ बलमा २३ तथा इफ्तिखार अहमदले १८ बलमा १६ रन बनाए । इंग्ल्यान्डका लागि मार्क वुड, आदिल राशिद र लियम लिभिगंस्टोनले समान २/२ तथा जोफ्रा आर्चर, क्रिस जोर्डन, मोईन अलिले समान १/१ विकेट लिए ।

पहिलो खेल, तेस्रो खेल वर्षाका कारण रद्द भएको सिरिजको दोस्रो र चौथो खेल इंग्ल्यान्डले जितेको थियो । विश्वकपमा पाकिस्तान समूह ए मा र इंग्ल्यान्ड समूह बी मा रहेको छ ।