साफ यु-२० च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज भुटानसँग खेल्दै

Image

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज पहिलो सेमिफाइनलको खेल हुनेछ । आज हुने सेमिफाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० ले दोस्रो खेलमा बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । उता भुटान भने समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

पहिलो खेलमा साविक विजेता भारतसँग १-० ले पराजित भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २-१ ले पराजित गरेपछि भुटान पनि भारतसँगै सेमिफाइनल पुगेको हो । समूह चरणमा नेपाल अपराजित रहँदा तीन गोल गरेको थियो भने एक गोल व्यहोरेको थियो ।

पहिलो खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दा निराजन धामीले निर्णायक गोल गरेका थिए । दोस्रो खेलमा बंगलादेशविरुद्ध समिर तामाङले नेपालका लागि गोल गरेका थिए भने एक आत्मघाती गोल उपहार पाएको थियो ।

भुटानले दुई गोल गर्दा दुई गोल नै व्यहोरेको छ । भुटानी खेलाडीले दुवै खेलमा रातो कार्ड पाएको थियो । दुवै खेलमा भुटानका एक/एक खेलाडीले रातो कार्ड पाएका थिए ।