गुलशन झाले रचे इतिहास, बने यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी

Image

काठमाडौं । युवा अलराउण्डर गुलशन झाले इतिहास रचेका छन् । नेपालबाट ओडीआईमा एकै खेलमा पाँच विकेट लिनुको साथै ५० भन्दामाथि रन बनाउने पहिलो खेलाडी  बन्दै इतिहास रचेका हुन् । नेपाल बिहीबार विहान ओमानसँग १ विकेटले पराजित भएपनि गुलशनले ५३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।

यसअघि नेपालबाट ओडीआईमा एकै खेलमा ५ वा त्यो भन्दामाथि विकेट सन्दीप लामिछानेले र करण केसीले तीन तीन तथा सोमपाल कामी र ललित राजवंशीले १-१ पटक पूरा गरेका थिए । तर सोही खेलमा अर्धशतक भने कुनैपनि खेलाडीले बनाउन सकेका थिएनन् ।

ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० भन्दा बढी रन बनाउने उनी २४ औं खेलाडी हुन् । पछिल्लो पटक सन् २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले स्कटल्यान्डविरुद्ध एकदिवसीय विश्वकप छनोट २०२३ जुलाईमा १२३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।

गुलशनले ओमानविरुद्ध ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाउनुको साथै १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिएका थिए । हारका बाबजुद गुलशन खेलको प्लेयर अफ द म्याच चुनिए । खेलपछि उक्त अलराउन्डर प्रदर्शनमा टोलीले हारेको कारण आफू खुसी नभएको गुलशनले बताएका छन् । ‘म खुसी छैन । हामी जितको अवस्थामा हुन सक्थ्यौं र तर हार्न पुग्यौं । तर ठिकैछ’, गुलशनले भने । त्यसैमा थपे, ‘म मेरो देशको लागि खेल्न सधैं मन पराउछु । म कृतज्ञ र गर्व गर्दछु हो । मैले आफ्नो भूमिका बलिङमा रमाई रहेको छु । स्पिनरमाथि खेल्ने मेरो खुबी हो ।’

२२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो ।