प्रदेशमै एमबीबीएस पढ्ने बाटो खुल्यो, हेटौंडाबाट स्वास्थ्यकर्मी उत्पादनको नयाँ अध्याय सुरु

Image

हेटौंडा / अब बागमती प्रदेशका विद्यार्थीलाई चिकित्सक बन्न काठमाडौं वा बाहिर जानैपर्ने बाध्यता घट्ने भएको छ। चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि ५० सिटसहित एमबीबीएस (MBBS) पढाउन अनुमति दिँदा प्रदेशमै दक्ष चिकित्सक उत्पादनको नयाँ अध्याय सुरु भएको छ।

यसअघि स्नातक तहमा मात्र सीमित प्रतिष्ठानले अब स्नातकोत्तर तहमा समेत प्रवेश पाउँदै सात विषयमा एमडी (MD) को पढाइ सुरु गर्ने भएको छ। स्त्री तथा प्रसूति विभागमा २ सिट, र फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिट उपलब्ध हुनेछ।

बीएस्सी नर्सिङमा २० बाट ३० सिट पुर्याइएको छ भने मेडिकल ल्याब टेक्नोलोजी (BMLT) र पब्लिक हेल्थ (BPH) कार्यक्रम २०/२० सिटमै सञ्चालन भइरहेका छन्। ब्याचलर अफ फार्मेसी (B-Pharmacy) भने ३० सिटकै संरचनामा निरन्तर चल्नेछ।
पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका अनुसार, मुख्यमन्त्री हुँदा सुरु गरिएको यो प्रतिष्ठानले छिट्टै दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण भेगसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनेछ। स्वास्थ्यमन्त्री किरण थापाले यो कदमले हेटौंडालाई स्वास्थ्य शिक्षा र अनुसन्धानको प्रमुख गन्तव्य बनाउने विश्वास व्यक्त गर्नुभयो।

उपकुलपति डा. प्रदिप ज्ञवालीका अनुसार, अहिले नै हेटौंडा अस्पतालमा दैनिक १ हजार ५ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्, जसमा छिमेकी प्रदेशका पनि धेरै छन्।
२०७६ मा प्रदेशसभाबाट ऐन जारी गरी स्थापना भएको यो प्रतिष्ठान २०७७ साउन १५ देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।