हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने भन्दै उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तारमा जोड दिनुभएको छ ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौँडाद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री थापा मगरले न्यून आय भएका नागरिकमाथि अनावश्यक करको भार पार्न नहुने उल्लेख गर्दै आर्थिक क्षमता बढी भएकाले क्षमताअनुसार योगदान गर्नुपर्ने धारणा राख्नुभयो । इमानदारीपूर्वक कर तिर्नेलाई निरुत्साहित गर्ने र कर छली गर्नेले लाभ पाउने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले नागरिकले तिरेको करको सदुपयोग र सार्वजनिक खर्चको पारदर्शिता सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताउनुभयो । सरकारको सफलता बजेट खर्चको परिमाणले मात्र नभई त्यसबाट नागरिकको जीवनमा आएको परिवर्तनले मापन हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
बाह्य ऋण र अनुदानमा निर्भरता घटाउँदै आन्तरिक राजस्व परिचालनमार्फत आर्थिक आत्मनिर्भरता बढाउनुपर्ने बताउँदै उहाँले प्रदेशका उद्योग, व्यापार, पर्यटन, कृषि र सूचना प्रविधिको सम्भावनालाई उत्पादन तथा रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
युवालाई विदेश जानबाट रोक्न आग्रह गरेर मात्र नहुने भन्दै स्वदेशमै रोजगारी, उद्यम र सम्मानजनक आम्दानीको वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।
कर प्रशासनलाई प्रविधिमैत्री, सरल र पारदर्शी बनाउँदै कर कार्यालयलाई नागरिकका लागि सेवा र सहजीकरणको केन्द्रका रूपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो । राजस्व चुहावट, कर छली र भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।














