“दुध उत्पादन जोगाउन बागमतीको लम्पी स्किनविरुद्ध खोप युद्ध सुरू”

Image

हेटौंडा / दुध उत्पादनमा ठूलो हानि पुर्‍याउने लम्पी स्किन रोग नियन्त्रणका लागि बागमती प्रदेश सरकारले प्रदेशव्यापी खोप अभियान सुरू गर्न लागेको छ। भाद्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने यस सप्ताहव्यापी अभियानमार्फत १३ वटै जिल्लाका १ लाख २० हजार पशुलाई खोप लगाइने लक्ष्य छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–१ मा प्रदेश मन्त्री मधुसुदन पौडेलले अभियानको उद्घाटन गर्नेछन्। सबैभन्दा धेरै खोप चितवन (३० हजार डोज) र मकवानपुर (२५ हजार डोज) मा पठाइनेछ भने काभ्रे, नुवाकोट, सिन्धुली, धादिङ, ललितपुर र दोलखामा पनि वितरण गरिनेछ।

खोपको व्यवस्थापन संघीय सरकारले गर्ने भए पनि खोप लगाउने खर्च प्रदेश सरकारले व्यहोर्नेछ। असार र साउन महिनामा मात्र यो रोगका कारण बागमतीमा ७४ पशु मरेका र १,६३३ मा संक्रमण देखिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. राम प्रकाश प्रधानले जानकारी दिए।

मकवानपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकमा संक्रमण दर बढी रहेकाले यी जिल्लामा खोप अभियानलाई विशेष प्राथमिकता दिइनेछ। यो रोग लाग्दा दुध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने भएकाले अभियानलाई दुध उत्पादन जोगाउने ‘खोप युद्ध’का रूपमा लिइएको मन्त्रालयले जनाएको छ।