हेटौंडामा लागुऔषध र तिन लाख सत्र हजार रुपैयाँ सहित ३ जना पक्राउ

Image

हेटौंडा / मिति २०८२।०४।२९ गते बिहान ९:३५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौडा उपमहानगरपालिका वडा नं. ४ नारायणी मल पछाडी भित्रि सडकमा लागुऔषध कारोबार भईरहेको सूचनाको आधारमा छापा मार्दा ३ ग्राम ९८० मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ३ जनालाई पक्राउ गरेको छ।

प्रहरीले बा. प्र. ०३-००६ प २६४५ नम्बरको स्कुटरमा शंकास्पद अवस्थामा रहेका ३० वर्षीय विवेक खड्का र २६ वर्षीय सुशान्त मैनालीलाई नियन्त्रणमा लिँदै खानतलासी गर्दा १ ग्राम ७३० मिलिग्राम लागुऔषध फेला परेको जनाएको छ। प्रारम्भिक सोधपुछ क्रममा विवेक खड्काको घर कोठामा प्रवेश गर्दा थप २ ग्राम २५० मिलिग्राम लागुऔषध र नगद रु. ३,१७,००० बरामद भएको छ।

यसैगरी, फरार हुन खोजेका ४२ वर्षीय सन्तोष कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध मुद्दामा म्याद अनुमती लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ।