लम्पी स्किन रोग नियन्त्रणका लागि बागमतीमा एक सातासम्म गाईभैंसी खोप अभियान सुरु

Image

हेटौंडा / गाईभैंसीमा फैलिँदै गएको लम्पी स्किन रोग नियन्त्रणका उद्देश्यले बागमती प्रदेशभर आइतबारदेखि सप्ताहव्यापी खोप अभियान सुरु भएको छ ।

प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले ललितपुरको कान्जोसोम गाउँपालिका–१ चौघरेमा आयोजित औपचारिक कार्यक्रममा अभियानको शुभारम्भ गर्नुभयो ।
मन्त्री पौडेलले काठमाडौँ उपत्यकाको माग धान्ने दुध उत्पादन क्षेत्रलाई सुरक्षित राख्दै रोगको फैलावट रोक्न खोप अभियान अघि बढाइएको बताउनुभयो । उहाँले पशुधनमा सम्भावित क्षति न्यूनीकरण गर्न अग्रिम तयारीका रुपमा यो अभियान ल्याइएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्रालयका अनुसार प्रदेशका १३ वटै जिल्लामा सञ्चालन हुने अभियान अन्तर्गत १ लाख २० हजार गाईभैंसीलाई खोप दिने लक्ष्य राखिएको छ । यस वर्ष ललितपुरमा १० हजार, काभ्रेमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२–१२ हजार, दोलखामा ६ हजार, चितवनमा ३० हजार, धादिङमा ११ हजार र मकवानपुरमा २५ हजार पशुमा खोप लगाइनेछ ।

हाल बागमतीमा ११९ स्थानीय तहअन्तर्गत ६ लाख ९४ हजार २१७ गाई र पाँच लाख ४९ हजार १८२ भैंसी रहेका छन् । गत आर्थिक वर्षमा भने ७१ हजार ९७७ पशुलाई मात्र खोप दिइएको थियो ।
लम्पी स्किन रोग लागेपछि उच्च ज्वरो, शरीरभर गाँठा देखिनु, खुट्टा सुन्निनु, हिँड्न गाह्रो हुनु र दुध उत्पादन ८० प्रतिशतसम्म घट्ने जस्ता लक्षण देखिने मन्त्रालयले जनाएको छ । नेपालमा पहिलोपटक २०७७ साल असारमा प्रमाणित यो रोग हालसम्म सबै ७७ जिल्लामा फैलिएको छ ।

सरकारका अनुसार यस रोगका कारण हालसम्म ७५ अर्ब ४८ करोड रुपैयाँबराबरको आर्थिक क्षति भएको छ । चालु वर्ष साउनदेखि भदौसम्म मात्र मकवानपुर, सिन्धुली, काभ्रे र चितवनमा ७४ पशुको मृत्यु र एक हजार ६३३ पशु प्रभावित भएका छन् ।