हेटौंडा / हरितालिका तीजको अवसरलाई विशेष उत्सवका रूपमा मनाउने तयारीमा रहेको मनहरी गाउँपालिका भोलि भदौ ४ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको स्वागतसँगै विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।
प्रदेशसभा क्षेत्र नं. २ (ख) बाट निर्वाचित बानियाँ हालै मुख्यमन्त्री नियुक्त भएपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा औपचारिक स्वागत कार्यक्रमका लागि आउन लागेका हुन्। गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीका अनुसार, मुख्यमन्त्रीको स्वागत मात्र नभई यसपटकको तीजलाई समुदायको उत्सवका रूपमा सांस्कृतिक कार्यक्रमले रंगीन बनाउन लागिएको हो।
गाउँपालिकाले आस्था कला केन्द्रका कलाकारमार्फत मौलिक नृत्य र तीज गीत प्रस्तुत गरिने बताएको छ। साथै, संघ–संस्था, सहकारी, टोल विकास समिति, महिला समूह, पूर्व तथा वर्तमान जनप्रतिनिधि, र राजनीतिक दलका महिला समितिका प्रतिनिधिलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

















