मध्यवर्ती क्षेत्रकै कारण अधिकारविहीन: भूमिहीनको हस्ताक्षर अभियान सुरु

Image

हेटौंडा / दशकौँदेखि नापजाँच र लालपुर्जा नपाएर अन्यौलमा परेका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले अब स्पष्ट विकल्पसहित दबाब दिन थालेका छन्। राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण अधिकार खोसिएको भन्दै उनीहरूले आजदेखि मनहरी गाउँपालिका–९ बाट हस्ताक्षर संकलन अभियान थालेर संघर्षलाई नयाँ मोड दिएका छन्।

जिल्ला संघर्ष समितिका अध्यक्ष क्षेत्रबहादुर मुक्तान प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागीहरूले, “कसरी पनि भए अब कि मध्यवर्ती क्षेत्र खारेज होस्, कि लालपुर्जा दिइयोस्” भन्ने माग गरे। राज्यले पटक–पटक आश्वासन मात्र दिएको तर व्यवहारमा केही नगरेको भन्दै उनीहरूले चुनावी नेताहरूको सपनालाई पाँच वर्षमै ‘वाष्पीकरण हुने वाचा’ को संज्ञा दिए।

“मध्यवर्ती क्षेत्रका नाममा हामीलाई असुरक्षा र भविष्यहीनतामा धकेलिएको छ,” र आफुहरु अधिकारविहीन भएको पीडितहरूको गुनासो थियो। उनीहरूले संरक्षणको नाममा निकुञ्जले स्थानीयलाई उल्टै दुःख दिने गरेको आरोप पनि लगाए।

अभियानमार्फत संकलित हस्ताक्षर केन्द्र र प्रदेश सरकारसम्म पु¥याई स्थायी बसोबासको हक सुनिश्चित गर्न संघर्ष समितिले प्रतिबद्धता जनाएको छ।