हेटौंडा/ राष्ट्रिय सूचना दिवस–२०८२ को अवसरमा हेटौंडामा मंगलबार ‘सूचनाको हक : अवसर र चुनौती’ विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अनुभव बाँडे ।
उनका अनुसार मागिएका सूचना समयमा उपलब्ध नगरिने, ढिलाइ गर्ने वा अपूर्ण जानकारी दिने प्रवृत्ति बढ्दै गएको छ । यसले नागरिकलाई सहज रूपमा सूचना पाउन कठिनाइ हुने मात्र नभई पारदर्शिता र जवाफदेहितामा समेत अवरोध भएको उल्लेख गरियो । सहभागीहरूले स्थानीय तहदेखि केन्द्रसम्म सूचना प्रवाहलाई व्यवस्थित, सरल र प्रभावकारी बनाउन सुझाव राखे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना सम्प्रेषणको स्तर लोकतन्त्रको मजबुतीसँग प्रत्यक्ष सम्बन्धित हुने बताउँदै कानुनले रोक लगाएका बाहेकका सूचना नियमित रूपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गलत वा भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह पनि गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलले सूचनाको हकको विकास यात्रा प्रस्तुत गर्दै विश्वमै पहिलोपटक सन् १७६६ मा स्वीडेनबाट यसको सुरुआत भएको र नेपालमा भने संविधान २०५७ सालदेखि मौलिक हकका रूपमा व्यवस्था गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का, प्रहरी नायब उपरीक्षक श्यामु अर्याल, पत्रकार, सरकारी कर्मचारी र सूचनासम्बन्धी निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

















