हेटौंडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले २०८२।०५।०५ गते बिहान ९:३० बजे हेटौंडा उपमहानगरपालिका–३ लेवटस्थित शंकास्पद अवस्थामा बसिरहेका २५ वर्षीय दिपेश सुनार र २६ वर्षीय शुसान्त थोकरलाई पक्राउ गरेको छ। खानतलासी गर्दा उनीहरुले लुकाई राखेको ६२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।
यसअघि २०८२।०५।०४ गते बेलुकी ८ बजे अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट गस्तीमा खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित शंकास्पद अवस्थामा बसिरहेका ३१ वर्षीय सञ्जय बि.क. र २४ वर्षीय किरण सुनारलाई नियन्त्रणमा लिएको थियो। खानतलासी गर्दा उनीहरुको साथबाट ९ क्यापसुल ट्रामाडोल, २३ एम्पुल डाइजेपाम र २०० ग्राम गाँजा बरामद भएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार दुवै घटनामा पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद अनुमति लिएर अनुसन्धान जारी राखिएको छ। प्रहरी लागूऔषध नियन्त्रण र अवैध कारोबार रोकथामका लागि नियमित गस्ती र छापामारी गर्दै आएको डिएसपी श्यामु अर्यालले बताउनुभयो।

















