मकवानपुरगढीमा कार्की खोलाले युवक बगायो, अवस्था अज्ञात

Image

हेटौंडा/ मकवानपुरगढी गाउँपालिका–२ तल्लो छापस्थित कार्की खोलामा शुक्रबार दिउँसो एक युवक बगेर बेपत्ता भएका छन्।

इलाका प्रहरी कार्यालय मकवानपुरगढीका अनुसार तल्लो छाप बस्ने २५ वर्षीय विनोद बम्जन घर फर्कने क्रममा खोलाले बगाएको हो। सोही गाउँपालिका–७ सुकौरा तर्फको पसलबाट फर्किरहेका बेला दिउँसो करिब साढे तीन बजे अचानक पानीको बहाव तीव्र भएपछि बम्जन खोलामा बगेका हुन्।

स्थानीय आवतजावतका लागि होमपाइप राखिएको उक्त खोलामा आकस्मिक रूपमा पानीको स्तर बढेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीको नेतृत्वमा पाँच जनाको प्रहरी टोली स्थानीयवासीसहित घटनास्थलमा पुगेर खोजतलास कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट करिब सात किलोमिटर उत्तरतर्फ पर्ने घटनास्थलमा अहिले पनि खोजी कार्य जारी रहेको र बम्जनको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।