हेटौंडा / मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्या ङडाँडास्थित कान्तिलोकपथ सडक खण्डमा आज साँझ ठूलो पहिरो खस्दा आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार आज साँझ करिब ५ बजेतिर लगातारको वर्षासँगै सडक माथिबाट ढुङ्गा र माटो खस्दा बाटो ठप्प भएको हो।
घटना सम्बन्धी जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरका प्रहरी निरीक्षक विद्या सागर मेहताको कमाण्डमा प्रहरी टोली खटिएको भए पनि लगातार वर्षा भइरहेका कारण तत्काल सडक खोल्न नसकिएको बताइएको छ।
प्रहरी निरीक्षक मेहताले राति ८:३० बजे जानकारी दिँदै वर्षा रोकिएपछि भोलि बिहानै सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास गर्ने उल्लेख गर्नुभयो। तर निरन्तर वर्षा जारी रहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ रहेको र आवागमन पूर्णरूपमा अवरुद्ध रहेको उहाँको भनाइ छ।

















