नमूना प्रगति सहकारी संस्थाले ८४ जेष्ठ सदस्यमध्ये ४७ जनालाई सम्मान

Image

हेटौंडा/ हेटौंडा–२ देवीपथस्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले कुशे औंशीको अवसरमा संस्थामा आवद्ध ७० वर्षमाथिका जेष्ठ सदस्यसँग भेटघाट गर्दै सम्मान कार्यक्रम आयोजना गरेको छ। शुक्रबार रोयल प्यालेसमा सम्पन्न कार्यक्रममा ४७ जना सदस्यलाई ढाकाटोपी लगाएर सम्मान दिइयो।

कार्यक्रममा जेष्ठ सदस्यसँग संवाद गर्दै संस्थाका सञ्चालक समिति सदस्य प्राध्यापक शिवराज पराजुलीले “जेष्ठ सदस्यसँग मनका कुरा” शीर्षकमा विचार प्रस्तुत गरे। संस्थाका व्यवस्थापक बद्रीप्रसद भण्डारीले संस्थाको आर्थिक प्रगति र आगामी योजनाबारे जानकारी गराए।

संस्थाका अध्यक्ष मिठाराम दहालको अध्यक्षता तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सचिव रामजी सापकोटा, सल्लाहकार सुर्यचन्द्र न्यौपाने र जुनेली श्रेष्ठ, कोषाध्यक्ष केशव देवकोटा लगायतले सहभागिता जनाएका थिए।

२०५५ सालमा स्थापना भएको यस संस्थामा हाल २ हजार ६७० शेयर सदस्य छन्। हेटौंडा–१७ हटियामा सेवा केन्द्र रहेको संस्थामा ६ जना कर्मचारी कार्यरत छन् भने शेयर पुँजी २ करोड ९१ लाख ९८ हजार रहेको छ।