अविरल वर्षापछि त्रिभुवन राजपथ खुल्यो, कान्ति लोकपथ अझै बन्द

Image

हेटौंडा/ मकवानपुरमा लगातारको वर्षाले शुक्रबार अवरुद्ध भएका दुई राजमार्गमध्ये त्रिभुवन राजपथ पुनः सञ्चालनमा आएको छ भने कान्ति लोकपथ अझै अवरुद्ध रहेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमफेदी–१ बगुवा क्षेत्रमा रोकिएको यातायात शुक्रबार राति करिब ९:३० बजेदेखि सुचारु भएको हो। दिउँसो करिब ३ बजे गिट्टी–बालुवासहितको भल सडकमा पसेपछि आवागमन अवरुद्ध भएको थियो। प्रहरी चौकी भैंसेबाट खटिएको ट्राफिक टोलीले सडक विभागसँग समन्वय गरी सफाइ गरेपछि राजमार्ग सञ्चालनमा आएको हो।

त्यसैबेला, हेटौंडा–ललितपुर जोड्ने कान्ति लोकपथ भने अझै बन्द छ। भीमफेदी–८ भर्याङडाँडामा साँझ ५ बजेतिर ठूलो मात्रामा ढुंगा–माटोसहित पहिरो खस्दा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार लगातार वर्षा जारी भएकाले तत्काल पहिरो हटाउन कठिनाइ भइरहेको छ। इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक विद्यासागर मेहताको नेतृत्वमा खटिएको टोलीले सडक विभागसँग सहकार्य गर्दै पहिरो पन्छाउने प्रयास गरिरहेको उनले बताए।

हाल त्रिभुवन राजपथमर्फत यातायात पुनः सञ्चालनमा आइसकेको भए पनि कान्ति लोकपथमा भने सवारी आवागमन ठप्प छ। मौसम अनुकूल भएपछि मात्र सडक खोल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।