हेटौंडा/ मकवानपुर प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भाद्र ८ गते बिहान ९:२५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट काठमाडौंतर्फ जाँदै गरेको BR 01 PB 1802 नम्बरको भारतीय सुमो गाडी रोकेर चालक ३५ वर्षीय किस्मत अली र २८ वर्षीय शाहरुख अलीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले गाडीको पछाडिपट्टि दुबै साइडको वडीभित्र लुकाइछिपाइ ल्याइएको अवस्थामा फेनेरगन १९५० एम्पुल, नुफिन १९५० एम्पुल, डाईजेपाम १९५० एम्पुल गरी जम्मा ५८५० एम्पुल लागुऔषध र २४० क्याप्सुल ट्रामाडोल फेला पारेको जनाएको छ।
बरामद गरिएको लागुऔषध र गाडी सहित दुबै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले बताउनुभयो। पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताउनुभयो।

















