हेटौंडा/ मकवानपुरको थाहा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा नयाँ माइलस्टोन पूरा गर्दै आइतबार पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरेको छ। यससँगै नगरपालिकाले मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा र सुरक्षित सुत्केरी सुनिश्चित गर्ने लक्ष्यमा प्रदेशमै उदाहरण प्रस्तुत गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घोषणा गर्दै महिला स्वास्थ्य स्वयंसेवी र स्वास्थ्यकर्मीहरुको निरन्तर मेहनतले नगरपालिकालाई पूर्ण सुत्केरी पालिका बनाएको बताए। उहाँले भने, “स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधार विकासमा प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ। थाहा नगरपालिकाको स्वास्थ्य क्षेत्रमा योगदान अनुकरणीय छ।”
प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले बर्थिङ सेन्टर स्थापना र हवाई उद्धार सेवा मार्फत मातृ तथा नवजात शिशु मृत्युदर घटाउन प्रदेश सरकारले सक्रिय कदम चाल्दै आएको जानकारी दिनुभयो। उनले नागरिकलाई सहज उपचारको पहुँच सुनिश्चित गर्ने अभियानमा प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो।
स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार पछिल्लो ६ वर्षमा नगरपालिकाभित्रका सबै गर्भवती आमाले स्वास्थ्य संस्थामै बच्चा जन्माएका छन्। १२ वडामा विभाजित थाहा नगरपालिकाले २०७६ साउन १७ गते ६ नम्बर वडालाई पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको थियो।
गत आर्थिक वर्षमा नगरपालिका भित्रका स्वास्थ्य संस्थामा ३ सय ५६ जना सुत्केरी भएका थिए। हाल नगरपालिकामा १२ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्। यस उपलब्धिले मातृ र नवजात स्वास्थ्यमा स्थायी सुधारको दिशा देखाएको छ।

















