सडक दुर्घटना नियन्त्रणमा ‘नो हेल्मेट, नो फ्युल’ अभियान : अब इन्धन लिन हेल्मेट अनिवार्य

Image

हेटौंडा / बागमती प्रदेश सरकारले सडक दुर्घटना नियन्त्रणका लागि कडाइ गर्ने तयारी थालेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुई पाङ्ग्रे सवारी साधन चालकले हेल्मेट नलगाए पेट्रोल पम्पले इन्धन दिन नपाउने गरी ‘नो हेल्मेट, नो फ्युल’ अभियान तत्काल लागू गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्रीका अनुसार हेल्मेट प्रयोगलाई कानुनी रूपमा प्रभावकारी बनाउन पेट्रोल पम्पमै कडाइ गरिने छ । यसका लागि नेपाल आयल निगम, पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक पत्राचार गर्ने निर्णय गरिएको छ ।

पेट्रोलियम डिलर्स एसोसिएसन बागमती प्रदेशले सबै पम्पमा हेल्मेट अनिवार्य सम्बन्धी सचेतनामूलक बोर्ड राख्ने तयारीसमेत गरेको छ ।
सवारी दुर्घटना रोकथामबारे राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले प्रस्तुत गरेको प्रतिवेदनपछि बैठकले दुर्घटनाका प्रमुख कारण मापसे, लापरबाही र हेल्मेटको बेवास्ता रहेको निष्कर्ष निकालेको हो ।

यस क्रममा मुख्यमन्त्री बानियाँले मादक पदार्थ सेवन गर्ने चालकहरूको नियमित परीक्षणलाई प्रभावकारी बनाउन पनि सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, प्रदेशका प्रमुख सचिव भुपाल बराल, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव विरेन्द्रकुमार भारती, प्रदेश प्रहरी प्रमुख डीआइजी अरुण पौडेललगायतको उपस्थिति थियो ।