छाउपडीको कुप्रथा अन्त्य नगरेसम्म जोखिम कायम : अछाममा दुःखद घटना

Image

अछाममा महिनावारी भएको कारण घरभित्र बस्न नपाई त्रिपालमुनि शरण लिन बाध्य भएका महिलामाथि विपत्ति आएसँगै छाउपडी प्रथाको घातक असर फेरि सार्वजनिक भएको छ ।

पन्चदेवल विनायक नगरपालिका–८ बारलामा गए राति माथिबाट ढुङ्गा खस्दा २८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको मृत्यु भएको छ । सोही घटनामा मङ्गलसेन नगरपालिका–६ की रत्नकला भण्डारी गम्भीर घाइते भएकी छिन् ।

लगातारको वर्षा बीच स्थानीय चुरकुली क्षेत्रमा त्रिपालमुनि सुतेका उनीहरूलाई ढुङ्गाले थिच्दा यो दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनास्थलमै प्रहरी पुगे पनि ज्यान जोगाउन नसकिएको बताइएको छ ।
अछाममा छाउगोठ भत्काइए पनि महिनावारी भएका महिलाले अझै घरभित्र बस्न नपाउने अवस्था छ । त्रिपाल वा ओडारमा बस्नुपर्ने बाध्यता अहिले ज्यानै जोखिममा पार्ने कारण बन्दै गएको छ ।