चितवन/ दशकौँदेखि “आफ्नै घरको जग्गा” पाउने सपना बोकेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको सपना बल्ल बल्ल पूरा हुन थालेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जनालाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेसँगै उनीहरूको मुहारमा खुसी झल्किएको छ ।
आयोगका अध्यक्ष इमानसिंह मोक्तानका अनुसार रत्ननगर नगरपालिकाका १३० र भरतपुर महानगरपालिकाका १२९ जनालाई प्रमाणपत्र वितरण गरिएको हो । आयोगमा हालसम्म ५१ हजार जनाले जग्गा प्रमाणपत्रका लागि आवेदन दिएका छन् । एक व्यक्तिले पाँच पटकसम्म पनि आवेदन दिएको तथ्याङ्कसमेत सार्वजनिक भएको छ ।
हाल ४०० भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्ने गरी काम भइरहेको आयोगले जनाएको छ । यसमध्ये १५० जनाको प्रमाणपत्र तयार भइसकेको छ भने असोज महिनाभित्रै बाँकी प्रमाणपत्र तयार गर्ने लक्ष्य राखिएको छ ।
अध्यक्ष मोक्तानका अनुसार स्थानीय तहसँगको सहकार्यमा आयोगले कामलाई तीव्रता दिइरहेको छ । भूमिहीनलाई जग्गा वितरण गर्नु केवल कागजी अधिकार मात्र नभई सामाजिक न्याय र समानताको दिशामा ठूलो कदम भएको उनको भनाइ छ ।

















