हेटौंडा/ मकवानपुर प्रहरीले ठूलो मात्रामा गाँजा र ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले २०८२ भदौ १२ गते बिहान करिब ११:३० बजे हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका रौतहट गरुडा नगरपालिका–६ बस्ने १९ वर्षीय दुर्गा कुमार साहलाई पक्राउ गरेको हो। खानतलासी गर्दा साहले बोकेको झोलामा लुकाइछिपाइ ल्याइएको ७ किलो ६५० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत हेटौंडाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
यस्तै, सोही दिन बेलुकी करिब ७:३० बजे हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी ठुलोथलीमा गस्तीमा खटिएको प्रहरी टोलीले ४५ वर्षीय राजकुमार मोक्तानलाई पक्राउ गरेको हो। पैदल हिँडिरहेका मोक्तानको झोला खानतलासी गर्दा २१०० ट्याब्लेट ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ। उनलाई पनि जिल्ला अदालत हेटौंडाबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।

















