हेटौंडा/ बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम पुगेर असहाय, अनाथ र परिवारविहीन नागरिकसँग समय बिताउँदै मानव सेवाकै महत्वलाई जोड दिनुभयो ।
शनिबार आश्रममा आश्रितहरूसँग भेटघाट गर्दै मन्त्री थापाले राज्य सबै नागरिकका लागि संरक्षक हुने उल्लेख गर्दै भन्नुभयो – “जसको कोही छैन, त्यसको लागि हामी छौँ । प्रदेश सरकार छ, बागमती प्रदेश सरकारले त्यसको लागि व्यवस्थापन गर्दै छ ।”
उहाँले यस वर्षको बजेटमा आश्रममा आश्रितको स्वास्थ्य बीमाको रकम सरकारले नै तिरिदिने व्यवस्था गरिएको जानकारी दिनुभयो । मानव सेवालाई नै सबैभन्दा ठूलो धर्म ठहर गर्दै उहाँले भन्नुभयो – “भगवानको मन्दिरमा गएर मात्र धर्म हुँदैन, मानव सेवा नै सबैभन्दा ठूलो पुण्य हो ।”
मन्त्री थापाले मानव सेवा आश्रमले असहायको लागि गरेको कार्यलाई ईश्वरीय काम भन्दै प्रशंसा गर्नुभयो । आश्रितहरूको खानपानदेखि स्वास्थ्य र सरसफाइमा आश्रमले देखाएको योगदानलाई सरकारबाट अझ व्यवस्थित गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै उहाँले हेटौँडा अस्पतालमार्फत आश्रमका बिरामीलाई निःशुल्क उपचार गराइने बताउनुभयो । हेटौँडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालन भएपछि स्वास्थ्य सेवामा व्यापक सुधार भएको भन्दै उहाँले हाल दैनिक १३/१४ सय बिरामीले ओपीडी सेवा लिइरहेको जानकारी दिनुभयो ।
प्रदेश सरकारले हेटौँडा अस्पताललाई ५ सय श्ययाको अस्पताल बनाउने लक्ष्य लिएको उल्लेख गर्दै थापाले सबैको साथ र सहयोग भए काठमाडौंको टिचिङ अस्पतालसँग प्रतिस्पर्धा गर्ने स्तरमा पुर्याइने दाबी गर्नुभयो । साथै उहाँले प्रतिष्ठानमार्फत एमडी र आगामी दिनमा एमबिबिएस पढाइ समेत सुरु हुँदै गरेको जानकारी दिनुभयो ।
जन्मदिनको अवसरमा मन्त्री थापाले मानव सेवा आश्रमका आश्रितलाई खाना खुवाउँदै उनीहरूसँगै बसेर भोजनसमेत गर्नुभयो । उहाँले आश्रितहरूसँग बिताएको क्षणलाई आफ्नो जीवनकै महत्वपूर्ण अनुभव भएको बताउनुभयो ।

















