सामाजिक उत्तरदायित्वमा सक्रिय नवयुवा सहकारी, वृद्धाश्रमलाई खाद्यान्न सहयोग

Image

हेटौँडा । हेटौँडा–११ स्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औं स्थापना दिवसलाई सेवा र सहयोगका कार्यक्रममार्फत विशेष बनाउन सफल भएको छ । सहकारीले आइतबार हेटौँडा–२ मा रहेको ओम वृद्धाश्रममा पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

अध्यक्ष फूलमान श्रेष्ठको नेतृत्वमा पदाधिकारी टोली वृद्धाश्रम पुगेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी पदाधिकारीहरूले सहकारी केवल आर्थिक कारोबारमा सीमित नभई समाजको आवश्यकता र उत्तरदायित्वसँग पनि गाँसिएको सन्देश दिएको बताएका छन् ।

स्थापना दिवसकै अवसरमा सहकारीले आज साँझ दीप प्रज्ज्वलन कार्यक्रम गर्ने तयारी गरेको छ । सहकारीमा हाल २ हजार ४ सय २२ जना सेयर सदस्य रहेका छन् । सहकारीको सेयर पुँजी २ करोड ८७ लाख रुपैयाँ रहेको छ भने २४ करोड रुपैयाँ बचत संकलन र १७ करोड ४१ लाख रुपैयाँ ऋण लगानी भएको व्यवस्थापक राजेश श्रेष्ठले जानकारी दिनुभयो ।