मकवानपुरमा ठूला परिमाणका लागूऔषधसहित १० जना पक्राउ

Image

हेटौँडा / मकवानपुर प्रहरीले पछिल्लो केही दिनयता विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै १० जनालाई पक्राउ गरेको छ ।

प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार २०८२ भदौ १५ गते बिहान ४ बजेतिर बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र बसामाडी प्रहरी चौकीको संयुक्त टोलीले हेटौँडा–३ बसामाडी चौकी अगाडि पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्दा दुई वटा EV गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो ।

पहिलो घटनामा, बा.प्र.०६–००१ ज ०५०३ नम्बरको यात्रुबाहक EV गाडीमा सवार मकवानपुर राक्सीराङ गाउँपालिका–१ का ३० वर्षीय प्रेमराज मोक्तान, १९ वर्षीय सन्दिप थिङ र १९ वर्षीय बुद्धिलाल मोक्तानको साथबाट झोलाभित्र लुकाई ल्याइएको २६ किलो १० ग्राम गाँजा फेला परेको अर्यालले जनकारी दिनुभएको छ ।
त्यसैगरी सोही स्थानमा अर्को EV गाडी (बा.प्र.०१–००२ ज ६५४९) को खानतलासी गर्दा चालक काभ्रे पाँचखाल–८ का २१ वर्षीय सुदिप तामाङ, सोही स्थानका २० वर्षीय सविन तामाङ र दोलखा सैलुङ–८ का २२ वर्षीय सागर तामाङ संलग्न रहेको अवस्थामा गाडीभित्र लुकाइएको ११२ किलो ७९० ग्राम गाँजा बरामद भएको छ ।

यसअघि भदौ १३ गते दिउँसो २ बजेतिर हेटौँडा–११ थानाभर्‍याङमा विशेष सूचनाका आधारमा गरिएको छापामा कबि कार्कीको कोठाबाट १ ग्राम २६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित मकवानपुरकै ३८ वर्षीय कबि कार्की, २६ वर्षीय उमेश लामा, बकैया–४ का ३३ वर्षीय सुरेश घलान र मकवानपुरगढी–३ का २९ वर्षीय सुनिल न्यौपाने पक्राउ परेका थिए ।

बरामद गरिएको लागूऔषध तथा सवारीसाधन नियन्त्रणमा लिई घटनामा संलग्न सबै १० जनाविरुद्ध लागूऔषध कसुरमा म्याद थप गरी मकवानपुर जिल्ला अदालत हेटौँडाबाट थप अनुसन्धान भइरहेको उपरीक्षक अर्यालले जानकारी दिनुभएको छ ।